बेलबारीका विद्यालयहरू आजबाट खुल्दै : अभिभावद्वारा स्वास्थ्य मापदण्डको पालनामा चासो


बेलबारी, २० भाद्र । कोभिडका कारण लामो समय देखि बन्द रहेका बेलबारी नगरपालिकाका विद्यालयहरू आज (आइतबार) बाट भौतिक रूपमै खुल्ने भएका छन् । नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरेर विद्यालय सञ्चालन गर्न अनुमति दिए पछि आजबाट विद्यालयहरू खुल्न लागेका हुन् । 

बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइरालाले स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरेर विद्यालय सञ्चालन गर्न अनुमति दिइएको बताएका छन् । शिक्षा शाखा प्रमुख कोइरालाले केही दिनअघि आयोजना गरिएको बैठकमा विद्यालयलाई आ–आफ्नो कार्य योजना पेस गर्न भनिएकोमा केही विद्यालयले मात्र कार्य योजना पेस गरेको, कार्य योजना पेस गरिएका विद्यालय आजदेखि सञ्चालन हुन पाउने बताएका छन् । तर कार्य योजनामा उल्लेख भए अनुसारको मापदण्ड पुरा नगरी विद्यालय सञ्चालन गरेको पाइएमा नगरपालिकाले कारबाही गर्नेसमेत शिक्षा शाखा प्रमुख कोइरालाले बताएका छन् । 

उनले भने ‘नगरपालिकाले बैठकको आयोजना गरेर विद्यालयहरूलाई सञ्चालनका लागि आ–आफ्ना कार्य योजना ल्याउन भनिएको थियो । उनीहरूले ल्याएमा कार्य योजना अनुसार विद्यालय सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । यसको नियमित अनुगमन हुने छ । यदि कार्य योजना अनुसारको स्वास्थ्य मापदण्डको पालना नभएको पाइएमा कारबाही हुने छ ।’

सञ्चालनको अनुमति पाएका केही विद्यालयले विभिन्न सिफ्ट निर्माण गरेर कक्षा सञ्चालन गर्ने भएका छन् भने केही विद्यालयहरूले भने सबै विद्यार्थीलाई एउटै सिफ्टमा बोलाएका छन् ।  

अभिभावकहरूले भने लामो समयसम्म बन्द रहेका विद्यालय खोल्ने निर्णय सही भए पनि स्वास्थ्य मापदण्डको पालना नगरी विद्यालय खोल्नु नहुने कुरामा जोड दिएका छन् । साथै एकै सिफ्टमा विद्यालय सञ्चालन हुँदा जोखिम बढ्ने भन्दै विभिन्न सिफ्टमा विभाजन गरेर विद्यालय खोल्नु पर्ने उनीहरूको राय रहेको छ । 

संस्थागत विद्यालयमा आफ्नो नानी पढाउने एक जना अभिभावकले भने ‘विद्यालय खोल्ने भनेर सूचना त आयो, यो राम्रो निर्णय हो । तर कोरोना सङ्क्रमण कायमै छ । स्वास्थ्य मापदण्डको पालना कसरी हुने हो भनेर नानी पठाउ कि नपठाउ भनेर दुबिधामा छु ।’

उता सुन्दरहरैँचा नगरपालिकाले पनि आजबाट विभिन्न सिफ्टमा विभाजन गरेर विद्यालय सञ्चालन हुने जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्