दुर्व्यवहारको आरोप लागेका सीता मेडिकल हल बेलबारीमा कार्यरत अहेव सेवाबाट निस्काशित


बेलबारी, १७ भाद्र । उपचार गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोप लागेका बेलबारीको एक निजी स्वास्थ्य संस्थामा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई मेडिकल सञ्चालकले निष्कासन गरेको छ । बेलबारी –१, मा सञ्चालित सीता मेडिकल हलमा कार्यरत अहेब कुलबहादुर कार्कीलाई सेवाग्राही महिलाले आफूमाथि दुर्व्यवहार भएको आरोप लाए पछि उनलाई सेवाबाट हटाइएको सञ्चालकले बताएका छन् । 

मेडिकल सञ्चालक कमल श्रेष्ठले सेवाग्राही महिलाबाट गुनासो आए पछि उनलाई आफूले कामबाट निकाल्नु परेको बताएका छन् । उनले भने ‘मेडिकलमा उपचार गर्न आउने एक जना सेवाग्राही महिलाले आफूलाई अहेवले दुर्व्यवहार गरेको गुनासो गर्नु भयो । सेवाग्राहीबाट यस्तो गुनासो आएपछि हामीले उनलाई कामबाट हटाएका हौँ ।’  

सुनसरीको इटहरी घर भएका अहेव कार्की विगत एक दशकभन्दा लामो समयदेखि सीता मेडिकलमा कार्यरत थिए । यो समाचार सार्वजनिक भए पछि अन्य केही महिलाले पनि आफूलाई पनि ती अहेवको अभद्र व्यवहारको सिकार भएकोे, आइन्दा यस्तो नगर्ने सर्तमा माफी दिएको सामाजिक सञ्जालमार्फत नै बताएका छन् । तर अहेव कार्कीलाई नजिकबाट चिन्नेहरू भने उनी त्यस्तो नभएको, लामो समयदेखि आफूहरू उनी कार्यरत मेडिकलमा उपचारका लागि जाने गरेको तर आजसम्म त्यस्तो व्यवहार नदेखेको प्रतिक्रिया दिएका छन् ।

यता मेडिकल सञ्चालकले भने उनी विरुद्ध यस्तो गुनासो आफूसामु पहिलो पटक आएको, गुनासो आउनसाथ उनलाई सेवाबाट हटाइएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्