खुल्न थाले अफगानिस्तानका बैङ्क, पैसा झिक्नेको लामो लाइन


काठमाडौँ, ११ भाद्र । एक साताभन्दा लामो समय बन्द रहेका अफगानिस्तानका बैङ्कहरू खुल्न थालेका छन् । बैङ्कहरू खुल्न थालेसँगै बैङ्कमा पैसा निकाल्नेको भीड देखिएको छ । अगस्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।

सुरुमा तालिबान काबुल प्रवेश गरेसँगै हुन सक्ने युद्धको आशङ्कामा सबै बैङ्क बन्द भएका थिए भने अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैङ्कको ७ अर्ब डलरमा तालिबानलाई पहुँच नदिने निर्णय गरेसँगै बढेको आशङ्काका कारण वित्तीय संस्थाहरू बन्द थिए ।

अफगानिस्तानमा दैनिक कामको लागि नगद रकम आवश्यक पर्ने भएकाले मानिसहरूले आफ्नो बैङ्कमा रहेको पैसाले काम चलाउन पाएका छैनन् । यसअघि तालिबानले मुलुकमा कब्जा जमाएसँगै अफगानिस्तानका एटिएममा ठूलो संख्यामा मानिसको भीड लागेको थियो ।

एक प्लेट खानाकै एक सय डलर

विद्रोही समूह तालीवान्ले सत्ता कब्जा गरेपछि अफगानिस्तान छोडेर बाहिरिने क्रममा काबुल विमानस्थलमा भेला भएका सर्वसाधारणले निकै महँगोमा खाना र पानी किन्नु परेको छ ।

उनीहरूले एक प्लेट खानाका लागि १ सय र एक बोतल पानीका लागि ४० अमेरिकी डलर तिर्नु परेको बिबिसीले जनाएको छ । हजारौँको संख्यामा भेला भएकाहरूले गर्मीको सामना पनि गरिरहनु परेको छ । काबुल विमानस्थलमा अमेरिकी र बेलायती सेनाले पानी र खाना उपलब्ध गराए पनि सयौँ मानिसले खान समेत नपाएको स्थिति छ ।

विमानस्थलमा अफगानी मुद्राको साटो अमेरिकी डलरमा कारोबार हुँदा खाना किनेर खान समेत कठिनाइ भएको स्थानीयले जनाएका छन् । खाना र पानी नपाएर कतिपय महिला र बालबालिका बेहोस हुन थालेका छन् । देश छाडेर बाहिर जान चाहने करिब ५० हजार अफगानी काबुल विमानस्थलमा विमानको प्रतीक्षामा छन् ।

विमानस्थल बाहिर पनि हजारौँको संख्यामा मानिसहरू भेला भएका छन्, उनीहरूलाई आ–आफ्नो घर फर्कन तालिबान समूहले धम्की दिइरहेको बुझिएको छ । (नयाँ पेजबाट) 

प्रतिक्रिया दिनुहोस्