झापामा समाजवादी पार्टीको समायोजन विवादित


अशोक गुरुङ – झापा।  समाजवादी पार्टी झापा जिल्लाको समायोजन कार्यमा विवाद भएको छ । असोज ७ गते झापाको बिर्तामोडमा भएको समायोजन कार्यक्रममा पूर्व नयाँ शक्ति पार्टीको झापा जिल्ला समिति र १ नम्बर प्रदेश समितिले समायोजन कार्यलाई अस्वीकार गरे पछि पार्टी विवादित बनेको हो ।

झापा जिल्लाको पूर्व ससफो र पूर्व नयाँ शक्ति पार्टीको समायोजनको कार्यक्रम भए पनि नयाँ शक्ति पार्टीको सहभागी नभएको कारण पार्टी समायोजन हुन नसकेको नयाँ शक्तिका झापा जिल्ला अध्यक्ष उदय गुरुङले असोज ८ बिर्तामोडमा पत्रकार सम्मेलन गरी जनाएका छन् । उनले ७३ सदस्यीय जिल्ला कमिटीमा ९ जनाले मात्रै समायोजनमा भाग लिएको दाबी गर्दै पार्टी समायोजन नभई व्यक्ति समायोजन भएको टिप्पणी गरे । उनले आफू नेतृत्वको कमिटीले समायोजन नमान्ने जिकिर गरेका छन् ।

असोज ७ गते नयाँ शक्ति पार्टी झापा र सङ्घीय समाजवादी फोरमबिच पार्टीको समायोजन भएको भ्रमपूर्ण प्रचार प्रसार हो भनी विज्ञप्तिमा उल्लेख गरेको छ । कुनै आमुक व्यक्तिहरूले समायोजनको नाममा गरिएको भ्रमपूर्ण कार्यप्रति घोर असहमति जनाउँदै नयाँ शक्ति पार्टी नेपाल झापा जिल्ला समिति समायोजन नभएको कुरा सम्पूर्ण कार्यकर्ता, केन्द्रीय कमिटी, प्रदेश कमिटी, र पत्रकार मित्रहरूलाई जानकारी गराउँदछु । सोही विज्ञप्तिमा उपयुक्त समयमा दुई पूर्व पार्टीका जिल्ला समितिबिच समायोजन कार्य सम्पन्न गरिने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्