छानबिन समितिले ‘बेलबारी बोयर बाख्रा प्रकरण’ बारे बुझायो आफ्नो प्रतिवेदन


‘कार्यपालिकाको बैठक बसेर चाँडै प्रतिवेदन सार्वजनिक गर्छौँ’ : मेयर सुवेदी

बेलबारी, ६ भाद्र । बेलबारी बोयर बाख्रा प्रकरण बारे सत्य तथ्य बाहिर ल्याउन गठन भएको छानबिन समितिले आफ्नो प्रतिवेदन नगरपालिकालाई बुझाएको छ । समितिले आइतबार बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई आफ्नो प्रतिवेदन बुझाएको हो । 

जेठको दोस्रो साता नगरपालिकाले किसानलाई शुद्ध अष्ट्रेलीयल बोयर भनेर वितरण गरेका बाख्राहरू अस्ट्रेलियन नभएको, नेपालकै कुनै फमबाट ल्याएर जनतालाई अस्ट्रेलियन भनेर झुक्याएको, यसमा व्यापक अनियमितता भएको भन्दै व्यापक विरोध भए पछि नगरपालिकाले कार्यपालिका सदस्य विन्दुकला गुरुङको संयोजकत्वमा पाँच सदस्सीय छानबिन समिति गठन गरेको थियो ।

नगरपालिकाद्वारा गठित उक्त छानबिन समितिमा काँग्रेसबाट राजेन्द्रबहादुर अधिकारी, जनता समाजवादी नेपालबाट केशव थापा मगर, माओवादी केन्द्रबाट किशोर भण्डारी रहेका थिए । समितिले दुई महिना लाएर आफ्नो प्रतिवेदन राजनैतिक पार्टीका प्रतिनिधि र पत्रकारहरूको उपस्थितिमा नगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति शम्भु भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष पर्शुराम सुवेदी, जनता समाजवादीका प्रतिनिधि कमलबहादुर गुरुङ, बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

समितिको प्रतिवेदन बुझेपछि नगरप्रमुख सुवेदीले कार्यपालिकाको बैठक बसेर चाँडै प्रतिवेदन  सार्वजनिक गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्