पारा तेक्वान्दो टोलीलाई लोकतान्त्रिकको बिदाइ


काठमाडौँ, ४ भाद्र । मित्र राष्ट्र जापानको टोकियो सहरमा आयोजना हुने पारालोम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीलाई नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले बिहिबार बिदाइ गरेको छ । प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री समेत रहेका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले टोलीलाई खेल पोशाक प्रदान गरेर प्रतियोगितामा सफलताको कामना गर्दै बिदाइ गरे ।

नेपाली टोली तेक्वान्दोका सफल व्यक्तित्व दीपक बिष्टको नेतृत्वमा शुक्रवार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । टोलीमा खेलाडी तर्फ पलेसा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । टोलीलाई शुभकामना प्रदान गर्ने क्रममा प्रमुख अतिथि बस्नेतले नेपाली काँग्रेस खेलाडीहरूको पक्षमा सदा अग्रस्थानमा रहने भन्दै पदक जितेर आएको खण्डमा खेलकुद विभागले न्यायोचित सम्मान गर्ने बताए ।

यस्तै नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश अध्यक्ष दीपक गुरुङले टिमलाई सफलताको शुभकामना प्रदान गर्दै प्रत्येक चरणको खेल जित्दा नगद २० हजार प्रदान गर्ने र पदक प्राप्त गरेको खण्डमा कास्यलाई ५० हजार, रजतलाई १ लाख र स्वर्णलाई १ लाख ५० हजार प्रदान गर्ने घोषणा गरे ।कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्