‘सार्वजनिक जग्गाको संरक्षणमा नगरपालिकाले योजनासहित अघि बढ्नुपर्छ’ : रविन थापा


(बेलबारीमा सार्वजनिक जग्गा अतिक्रमणविरुद्धको निरन्तर खबरदारी)

बेलबारी, ३ भाद्र । नेकपा एमाले बेलबारी नगर सङ्गठन कमिटी अध्यक्ष रविन थापाले नगरका नामका तथा नगरभित्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाको संरक्षणमा नगरपालिकाले योजनासहित अगि बढ्नुपर्ने बताएका छन् ।

बेलबारी नगरपालिका वडा नं ८, राधानगरका स्थायी बासिन्दा रहेका थापा वडा नं १ मा बन्दै गरेको बेलबारी सपिङ कम्प्लेक्स र त्योसँग जोडिएका जग्गाको बारेमा आफूले मिडियाबाटै थाहा पाएको बताउँछन् । स्थानीय सरकारको हैसियतले ती सबै कामको जिम्मा नगरपालिकाकै भएको बताउँदै थापा नगर र नगरबासीको हितमा गरिने काममा आफू र आफ्नो पार्टी पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताउँछन् ।  

बेलबारी नगरभित्रका सार्वजनिक सम्पत्तिको संरक्षणमा नगरपालिकालाई योजनासहित लाग्न पार्टीले पटक पटक निर्देशन दिएको स्मरण गर्दै थापा यो वा त्यो काम भन्दा पनि नगरपालिकाले सम्पूर्ण कामलाई योजनाबद्ध रूपमा अगाडि बढाउनु पर्ने बिचार व्यक्त गर्छन् । जनताले धेरै आसा गरेको भए पनि स्थानीय सरकारले अपेक्षा अनुसारको परिणाम दिन भने नसकेको उनको ठहर रहेको छ ।

उनी भन्छन् ‘जनताले बामपन्थी नेतृत्वको स्थानीय सरकारबाट धेरै आसा राखेका छन् । काम नै नभएका भने होइनन् । धेरै राम्रा काम पनि भएका छन् । तर स्थानीय सरकारले जनअपेक्षा अनुसारको परिणाम दिन भने नसकेको पक्का हो ।’ 

अध्यक्ष थापाले कोशी नेपाल मिडियासँग राखेको बिचारको सारलाई तल बुँदागत रूपमा उल्लेख गरिएको छ :-

– समुन्नत बेलबारी बनाउने काममा सबैको उत्तिकै भूमिका रहेको, बेलबारीको पहिचानलाई बचाउन योजनासहित अघि बढ्नु पर्ने, धेरै काम भएका तर पूर्ण योजनाकासाथ नहुँदा अपेक्षाअनुसारको काम हुन नसकेको, नगरपालिकाले योजनासहित परिणाम देखिनेगरि काम गर्नु पर्ने,

– सार्वजनिक सम्पत्तिको सुरक्षाको जिम्मा स्थानीयपालिकाकै हो, राजनैतिक पार्टीको सहयोगी भूमिकामा रहने, संस्कारगत समस्याका कारण समन्वय गरेर काम गर्न नसक्दा केही समस्या देखिएको, परिणाम नआएको, तर यसलाई सुधार गर्नु पर्ने देखिएको,

– नगरभित्र रहेका सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पार्टीको बैठकमा पटक पटक छलफल भएको, जसको लागि नगरपालिकाद्वारा छुट्टै ऐन नै बनाइए पनि त्यसको कार्यान्वयन हुन नसकेको, त्यसको कार्यान्वयन हुनु पर्ने, 

– भूमिहीनको समस्या समाधान गर्न एमाले नेतृत्वको सङ्घीय सरकारले गठन गरेको आयोगलाई विघटन गरेर वर्तमान सरकारबाट जनताको मौलिक हकको हनन गर्ने काम भएको, 

– आयोग विघटन भएको बेलामा भूमाफियाहरुको चलखेल बढ्न सक्ने भएकोले स्थानीय सरकारले नै नगरभरि भएका वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित नागरिकको पहिचान गरी उनीहरूलाई अस्थायी रूपकै भए पनि जग्गाधनी प्रमाण पत्र उपलब्ध गराउनु पर्ने, 

सार्वजनिक सम्पत्तिको दोहन विगत लामो समयदेखि भइरहेको, स्थानीय सरकार आए पछि ती कार्यलाई स्पष्ट नीति बनाएर रोक्नु पर्नेमा त्यसो गर्न नसकेको स्थानीय प्रताप थापा बताउँछन् । 

नेकपा एमालेका जिल्लास्तरीय नेता तथा गत निर्वाचनमा मेयरका प्रत्यासीसमेत रहेका थापा बेलबारी १ मा बन्दै गरेको सपिङ क्प्लेक्सको जग्गाको विषय त एउटा प्रतिनिधि घटना मात्र भएको नगरभरिका यस्ता थुप्रै जग्गाहरु अतिक्रमणको चपेटामा रहेको बताउँछन् । उनी नगरपालिकाले यस्ता सम्पत्तिको संरक्षण गर्न ढिलाइ गर्नु नहुने, यो काम जति जति ढिला हुन्छ त्यति नै नगरलाई घाटा हुने बिचार व्यक्त गर्छन् । नगरपालिका भित्र रहेका त्यस्ता सार्वजनिक जग्गा व्यक्तिका नाममा पार्ने काममा राजनैतिक पार्टी र तिनका नेतासमेतको साँठगाँठ रहेको र त्यहाँ मोटो रकम कोसमेत चलखेल भएको हुनसक्ने उनले बताउँदै आएका छन् ।

सार्वजनिक जग्गा आफ्नो नाममा बनाउने क्रममा बेलबारीका एक जना स्थानीयले आफूलाई गरेको पैसाको अफरलाई आफूले सोझै इन्कार गर्दै फर्काइदिएको प्रसङ्ग जोड्दै उनी भन्छन् ‘यस्ता जग्गा आफ्नो नाममा पार्न ठूलै पैसाको चलखेल हुने गरेको मैले पाएको छु । कति पटक त मलाईसमेत तपाईँले सहयोग गरिदिनु पर्‍यो, तपाईँले सहयोग गरिदिनु भए काम हुन्थ्यो, यसका लागि लागेको खर्च हामी व्यहोर्छौ भन्ने पनि थिएँ । तर मैले सोझै गाली गरेर पठाइदिएको छु ।’  

बेलबारी नगरपालिका वडा नं १ मा अण्डरग्राउण्डसहित पाँच तले सुविधा सम्पन्न सपिङ कम्प्लेक्सको निर्माण भइरहेको छ । करिब १२ करोडको लगानीमा निर्माण भइरहेको उक्त सुविधा सम्पन्न क्प्लेक्सको अण्डरग्राउण्डमा पार्किङ र अरू तलामा व्यावसायिक प्रयोजनमा आउने नगरपालिकाले बताएको छ । 

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले १७ करोड ३९ लाख ५६ हजार ६ सय ६६ मा टेण्डर आह्वान हुँदा ‘रविना, अविशा अवियान जेबी काठमाडौँले भ्याट सहित ११ करोड ९९ लाख ८५ हजार ७ सय १४ मा निर्माण कार्यको अनुमति पाएको, १८ महिनामा निर्माण सम्पन्न गरेर नगरपालिकालाई जिम्मा लाउने गरी काम भैरहेकोे जानकारी दिएका छन् । नगर विकास कोषको ७० प्रतिशत ऋण लगानी र बेलबारी नगरपालिकाको ३० प्रतिशत आर्थिक लगानीमा निमार्ण हुने उक्त सुविधा सम्पन्न कम्प्लेक्सको ‘बेलबारी सपिङ कम्प्लेक्स तथा स्थानीय उत्पादन केन्द्र’ नाम दिएको छ । 

आफ्नै नगरमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न व्यापारिक भवन बनिरहँदा हौसिएका बेलबारीका स्थानीयहरू बजारका नाममा रहेका जग्गा नै गायब भएको थाहा पाए पछि त्यसै आन्दोलित हुँदै आएका छन् ।

विगत लामो समयदेखि लाग्दै आएको बेलबारी १ मा रहेको सोमवारे हटियाको प्रयोजनका लागि करिब १४ कठ्ठा जग्गा भएको बताइए पनि हाल बजारले भने साढे सात कठ्ठा मात्र प्रयोग भइरहेको देखिन्छ । बाँकी अरू जग्गा कहाँ छन्, कसले प्रयोग गरिरहेका छन् भन्ने जानकारीसमेत छैन । बजारका नाममा रहेका जग्गाको खोजी गरेर बजारकै प्रयोजनमा ल्याउन स्थानीयहरू माग गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्