११ महिना अघिको कसेनी हत्याका मुख्य अभियुक्त चौधरी पक्राउ


 बेलबारी, ३१ श्रावण । ११ महिना अघिको बेलबारीको ‘कसेनी हत्या काण्ड’का मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान २ का केके भन्ने ३१ वर्षीय कृष्ण चौधरी रहेको प्रहरीले जनाएको छ । 

सादा पोशकमा खटिएका प्रहरीले चौधरीलाई शनिवार सुन्दरहरैँचाको बाँसवारीदेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । चौधरी गत भदौ १२ गते बेलबारी –५ कसेनीमा भएको ग्याङ फाइट घटनाका मुख्य अभियुक्त हुन् । उनी घटना घटाएर लामो समयदेखि फरार रहँदै आएका थिए । चौधरी दुहबीमा बस्दै आएको पनि प्रहरीले बताएको छ । 

गत भदौमा भएको ग्याङ फाइटमा धारिलो हतियार प्रहार गरी घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा मृत्यु भएको थियो । प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा यस अघि ६ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले यसअघि नै बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षीय विनयकुमार सरदार, ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) लाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका चौधरीलाई मोरङ अदालतमा पठाएको डिएसपी श्रेष्ठले बताएका  छन् । 

प्रतिक्रिया दिनुहोस्