अफगानिस्तानबाट आफ्ना कर्मचारीको सेनाले धमाधम उद्धार गर्दै पश्चिमा मुलुक


काठमाडौँ, ३० श्रावण । अफगानिस्तानमा तालिबान विद्रोही तीव्र गतिमा राजधानी काबुलतर्फ बढेपछि त्यहाँस्थित विदेशी कूटनीतिक नियोगहरू हतास मनस्थितिमा पुगेका छन् ।


शुक्रवार विद्रोहीहरूले राजधानीबाट ८० किलोमिटर पर रहेको लोघार प्रान्तको राजधानी पुल–ए–अलाम कब्जा गरेपछि कूटनीतिक नियोगहरू काबुल छाड्ने हतारोमा लागेका हुन । अमेरिकाले आफ्ना कर्मचारीहरूको उद्धारका लागि सेनाको पहिलो खेप अफगानिस्तान पठाईरहेको छ भने अन्य पश्चिमा मुलुकहरूले पनि आफ्ना कर्मचारीहरूलाई त्यहाँबाट निकाल्ने प्रक्रिया सुरु गरिसकेका छन् ।


काबुलस्थित राष्ट्रसङ्घीय नियोगका प्रमुखले परिस्थिति निकै तीव्र गतिमा परिवर्तन भइरहेको र नियन्त्रण बाहिर गइरहेको बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले अफगानिस्तानको अवस्थाको सूक्ष्म निगरानी गरिरहेको भन्दै तत्कालै काबुलमा विद्रोहीले कब्जा जमाउने सम्भावनालाई भने अस्वीकार गरेका छन् ।


तर एक महिनाभित्र राजधानी काबुल विद्रोहीको कब्जामा पुग्नेमा भने उनी पनि सहमत देखिएका छन् । अमेरिकाले आफ्ना कर्मचारी र नागरिकहरूको सुरक्षा र उद्धारका लागि यसै साताको अन्त्यसम्म ३ हजार फौज त्यहाँ उतार्ने पनि पेन्टागनका प्रवक्ताले बताएका छन् । बेलायतले कूटनीतिक कर्मचारीको उद्धारका लागि ६ सय सेना पठाउँदै छ भने जर्मनी, डेनमार्क र नर्वेले पनि उद्धारको काम अघि बढाइसकेका छन् । (नयाँ पेजबाट)

प्रतिक्रिया दिनुहोस्