ठगी आरोपमा नायिका शिल्पा र उनकी आमासँग सोधपुछ


मुम्बई, ३० श्रावण । आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा ठगीको मुद्दामा बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीको नाम मुछिएको छ ।


लखनउ प्रहरीले शिल्पा र उनकी आमालाई पक्राउ गरेको छ भने मुम्बई प्रहरी सोधपुछका लागि उनीहरूको घर पुगेको छ । भारतीय मिडियाका अनुसार शिल्पा र उनकी आमाको नाममा दुईवटा एफआईआर दर्ता गरिएको छ । शिल्पा र उनकी आमाले यसको शाखा खोल्ने नाममा दुईजनासँग करोडौँ रुपैयाँ लिए, तर शाखा खोलेनन् ।


उक्त कम्पनीका अध्यक्ष किरण बावाले भने इन्स्टाग्राममार्फत विज्ञप्ति जारी गर्दै शिल्पा र उनकी आमाको यसमा कुनै हात नरहेको बताएकी छन् । उनका अनुसार शिल्पा र सुनन्दा धेरै समयअघि नै यो कम्पनीबाट छुट्टिएका थिए । यो कम्पनी आफ्नो सन्तानजस्तो भएको भन्दै उनले यसबारे भ्रामक समाचारहरू नफैलाउन आग्रह गरेकी छन् ।


पति राज कुन्द्रालाई अश्लील भिडियो निर्माण र प्रसारणमा गएको जुलाई १९ तारिखमा पक्राउ गरिएदेखि अभिनेत्री शिल्पा पनि कुनै न कुनै विवादमा फसिरहेका छन् । (नयाँ पेजबाट)

प्रतिक्रिया दिनुहोस्