आफ्नै मृत्युदर्ता प्रमाणपत्र बोकेर हिँडेका बेलबारीका सुभाषले बल्ल पाए नागरिकता


सुभाषकी श्रीमती भन्छिन् ‘नागरिकता त पाइयो अब एउटा व्यवसाय गर्ने बाटो भए हुने थियो’

बेलबारी, २९ श्रावण । आफ्नो गुमेको परिचय फिर्ताका लागि लामो समयदेखि लडिरहेका बेलबारीका सुभाष तामाङले अन्ततःः सफलता हासिल गरेका छन् । सुभाष विगत चार बर्सदेखि आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र लिएर हिँडिरहेका थिए ।

जिउँदै भएर पनि कानुनी रूपमा भने मृत घोषित भएका सुभाषलाई आफू जीवित छु भन्ने प्रमाण पुर्‍याउन निकै कठिन परेको थियो । सुभाषले आफूसँग भएको मृत्यु दर्ताको प्रमाण बदर गरेर आफ्नो नागरिकता लिन धेरै प्रयास गरे तर उनको एक्लो प्रयासले असफल भए पछि उनी मिडियासामु आएका थिए । मिडियाको उनलाई ठूलो सहयोग रहेको थियो । उनको यो विषयमा मिडियाले निरन्तर फलोअप गरिरहे ।

उनको नागरिकताकै विषयलाई लिएर पछिल्लो पटक असार २५ गते कोशी नेपाल मिडिया बेलबारीको टिम जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको थियो । बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीसहित पुगेको मिडियाको टिमले प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलालाई भेटेर उनको नागरिकताको बारेका कुरा उठाएको थियो । उपप्रमुख पराजुलीले पनि सुभाषको नागरिकताको लागि प्रजिअ निरौलालाई विशेष अनुरोध गरेकी थिइन् ।

उक्त भेटमा प्रजिअ निरौलाले आफू सुभाषलाई नागरिकता दिलाउन लागि पर्ने बताएका थिए । सुभाषको विषयमा आफू जानकार भएको, मृत्यु दर्ता भइसकेकोले त्यसलाई बदर गर्न केही दिन लागे पनि उनको नागरिकता चाँडै बन्ने आश्वासन दिलाएका थिए । नभन्दै आश्वासन दिएको एक महिना नबित्दै उनले नागरिकता पाएका छन् । सुभाषले श्रावण २७ गते बिहिवार आफ्नो नागरिकता पाएका छन् ।

नागरिकता बुझ्दै सुभाषले प्रजिअ लगायत सबैलाई धन्यवाद दिएका छन् । साथै उनले मिडियाप्रति विशेष आभार व्यक्त गरेका छन् । उनले भने ‘यदि मिडिया थिएन भने मैले नागरिकता पाउने थिइन होला, तसर्थ म मिडियाका साथीहरुप्रति आभारी छु ।’

२०३८ मा साबिकको कुदाककाउले गाविस, हालको षडानन्द नगरपालिका वडा नं –२, भोजपुर जन्मिएका सुभाष केही सालदेखि बेलबारी –११ लक्ष्मीमार्गमा बस्दै आएका छन् ।

रोजगारीका सिलसिलामा २०७२ सालमा साउदीमा रहेका सुभाषको दुर्घटनामा परेर मृत्यु भएको भन्दै घरमा उनको शव आएको थियो । परिवारले उनी मरेको विश्वासमा काजक्रियासमेत सकेपछि उनी पुनः सम्पर्कमा आएका थिए । 

मृत्यु भएको भनेर काजक्रियासमेत सकेका मानिसको जीवित भएको खबरले गाउँलेहरू आश्चर्यचकित भएका थिए । आफूले श्रीमान् जीवितै रहेको बताउँदा धेरैलाई उक्त कुरालाई पत्यार नलागेको, केहीले त सन्तोषी बहुलाइछे सम्म भन्न पछि नपरेको सुभाषकी श्रीमती सन्तोषी बताउँछिन् । 

उनको मृत्युको घटना यस्तो भएको रहेछ 

कम्पनीले तलब हालेको दिन थियो । तलब आए पछि नेपालीहरू एटिएममा गएर पैसा निकालेर घर पठाउने गर्छन् । उनीहरू पनि दिनभरिको काम सकेर पैसा झिक्न गए । पैसा झिकेर राती १ बजेतिर कोठामा फर्किँदै थिए । फर्किने क्रममा सुभाषसहित चार जना सवार ट्याक्सी दुर्घटनामा पर्‍यो । दुर्घटनामा परेर उनका तीनै जना साथीहरूको घटनास्थलमै मृत्यु भयो । उनी भने बाच्न सफल भए । तर कम्पनीले भने उनको मृत्यु भएको ठानेर उपचाररत रहेका सुभाषको ठाउँमा अर्कैको लासलाई नेपाल पठाइदियो । उता शुभाषकोे भनेर नेपाल पठाइको लास चाहिँ नवलपरासीका तेजेन्द्र भण्डारीको रहेछ । तेजेन्द्र दुर्घटनामा परेको ट्याक्सीका चालक थिए । 

यस क्रममा उनको २०७२ साल श्रावण ६ गते षडानन्द नगरपालिका भोजपुरमा मृत्यु दर्तासमेत भैसकेको थियो । आफ्नो नाममा दर्ता भइसकेकोले मृत्यु दर्ता प्रमाण पत्र बदर गरेर आफू जीवित भएको प्रमाण लिन उनलाई निकै कठिन परेको थियो । सुभाष त्यो भयानक दुघटनाबाट बाच्न सफल त भए तर कागजात नहुँदा उनले घर फिर्न झण्डै १८ महिना पर्खनु परेको थियो । 

दुर्घटनामा पछि निको भएर आएका हुनाले सुभाषको मानसिक सन्तुलन त्यति राम्रो थिएन । अहिले पनि उनी पूर्ण रूपमा ठिक भने भएका छैनन् । यतिखेर सम्पूर्ण परिवारको रेखदेख र पालनपोषण श्रीमतीको काँधमा रहेको छ । 

सामान्य आर्थिक अवस्थाबाट गुज्रिरहेको उनको परिवारमा दुई सन्तान र श्रीमती छन् । उनको परिवार यतिखेर बेलबारी –११, लक्ष्मीमार्गमा सानो पसल गरेर बसेको छ । तर लकडाउनले गर्दा पसल बन्दजस्तै छ । पसल नचल्दा उनीहरूलाई साह्रै चिन्ताले पिरोलिरहेको छ । पसल चलाउन भनेर एउटा भएको सानो घर पनि बन्दकी राखिएको, धरौटीमा उकास्न नसक्दा त्यही भएको एउटा घर पनि गुम्ने पो हो कि भन्ने उनकी श्रीमतीलाई चिन्ताले सताएको छ । उनीहरू यसबेला स्थानीय सरकारले केही गरिदिए हुन्थ्यो भन्ने आसामा बसिरहेका छन् ।

नागरिकता बनाउनमा सहयोग पुर्‍याएको नगरपालिकाले अब आर्थिक उपार्जनमा पनि सहयोग गरिदिए हुन्थ्यो भन्ने लागेको छ । नागरिकता त पाइयो अब एउटा सानो व्यवसाय गर्ने बाटो भए हुनेथियो भन्ने उनकी श्रीमती सन्तोषीलाई लागेको छ ।

‘नागरिकता त पाइयो, अब एउटा स-सानो कामको व्यवस्था भए त हुनेथियो । यदि यसो भए जीवन जिउन केही सहयोग मिल्ने थियो ।’ सुभाषकी श्रीमती सन्तोषीले कोशी नेपाल मिडियासँग भनिन् । साथै उनले आफ्ना श्रीमान्को नागरिकता बनाउन सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त पनि गरिन् । 

प्रतिक्रिया दिनुहोस्