लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ


बुटवल, २८ श्रावण । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार आयोजित एक समारोहबिच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।


माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसी बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ’क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शङ्कर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशसभाका ४२ जना सदस्यहरूले समर्थन गरेका छन् ।


मुख्यमन्त्री केसीले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमा काँग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्ण ध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरू मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन ।


लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शङ्कर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन् । सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भए पनि राजीनामा दिएर बाहिरिएकी थिइन् । स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएका लुम्बिनी प्रदेशसभामा दुई सांसद छन् ।
यो समूहले यसअघि पोखरेल नेतृत्वको सरकारलाई साथ दिएको थियो र सांसद धर्मबहादुर लाल श्रीवास्तव सरकारमै सहभागी भएका थिए । अहिले सोही समूहका अर्का सांसद शाही केसी नेतृत्वको मन्त्रिपरिषदमा सहभागी भएका छन् । (नयाँ पेजबाट)

प्रतिक्रिया दिनुहोस्