प्रहरीले पुन: सुरु गर्‍यो ‘तपाईँको मास्क खोइ ?’ अभियान


काठमाडौँ, २५ श्रावण । प्रहरीले दोस्रो लहर फैलिएका बेला चलाएको ‘तपाईँको मास्क खोइ ?’ अभियानलाई नेपाल प्रहरीले पुन : सञ्चालनमा ल्याएको छ । कोभिड–१९ सङ्क्रमणमा वृद्धि देखिएसँगै नेपाल प्रहरीले यो अभियानलाई पुनः सञ्चालनमा ल्याएको हो । सङ्क्रमण घट्दै गए पछि निष्क्रिय भएको यो अभियानलाई पुन : सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

यता नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पनि शुक्रवारदेखि देशभर ‘मास्क अभियान’ सञ्चालन गर्दै आएको छ । मन्त्रालयले ‘मास्क अभियान’मा स्वास्थ्य स्वयंसेविकामार्फत गाउँ टोलमा पुगेर मास्कको महत्त्वबारे सिकाउने उद्देश्य राखेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको यो अभियानलाई सरकारको मास्क अभियानलाई सहयोग पुग्ने आसा लिइएको छ । 

यो अभियान अन्तरगत प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म पाँच लाख ३७ हजार ७४९ लाई मास्क वितरण गरिसकेको जनाएको छ । आइतबार मात्रै प्रहरीले १० हजार ७६ लाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

तर यसरी सञ्चालन हुने यस्ता अभियानहरूको प्रभावकारितामा भने प्रश्न उठ्ने गरेको छ । मूलत : यस्तो कार्यक्रहरुको निरन्तरताका साथै नियमित अनुगमनको खाँचो महसुस हुने गरेको छ । अन्यथा नियमित अनुगमनको अभावमा यस्ता अभियानहरू औपचारिकतामै सीमित हुने र राज्यले आर्थिक भार मात्र व्यहोर्नु पर्ने जानकारहरू बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस्