स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न प्रधानमन्त्रीको आग्रह


काठमाडौँ, २४ श्रावण । प्रधानमन्त्री शेरबहादुर सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन् । शनिवार देखि सुरु भएको ‘नेपाल मास्क’ अभियानको अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

देउवाले विशेष गरेर राजनीतिक दलहरूलाई बढी जिम्मेवार भएर काम गर्न, भिडभाड हुने काम नगर्न आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले व्यवसायीहरूलाई व्यापार र व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल सरकारले खोपको व्यवस्था गरिरहेको भए पनि सुरक्षा मापदण्डको पालनामा कमजोरी नगर्न आग्रह गरेका छन् । उनले नेपालमा पनि कोभिड–१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन पनि सबैलाई आग्रह गरे ।  सरकारले शनिवारदेखि साउन २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ माक्स अभियान सञ्चालन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्