काठमाडौँ, २३ श्रावण । सरकारले आज देखि देशभर मास्क अभियान सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा आजदेखि शुक्रवारसम्म एक हप्ता मास्क अभियान सञ्चालन हुन गइरहेको हो ।
मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ अभियान सञ्चालन गर्न लागेको बताएको छ । मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्नु अभियानको मुख्य उद्देश्य रहेको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
पछिल्लो समय स्वास्थ्य मापदण्ड उल्लङ्घन भइरहेको छ । मास्क नलगाउँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको, मास्कलाई अनिवार्य गर्न सकेमा मात्र पनि कोरोनाको जोखिमबाट बच्न सकिने विज्ञले बताउँदै आएका छन् ।
यस अघि पनि ट्राफिक प्रहरीले पनि ‘तपाईँको मास्क खोइ’ अभियान सञ्चालन गरेको थियो । यस पटक भने स्वास्थ्य स्वयंसेविकामार्फत गाउँ टोलमा पुगेर मास्कको महत्त्वबारे सिकाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनएको छ ।
तर सरकारले सञ्चालन गर्ने यस्ता अभियानहरूको प्रभाव भने त्यति देखिएको छैन । नियमित अनुगमनको अभावले लाखौँ रकम खर्च गरेर सम्पन्न भएका यस्ता अभियानहरू औपचारिकतामै सीमित हुने गरेका जानकारहरू बताउँछन्।