काठमाडौँ, २३ श्रावण । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै सबैखाले परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोनाको सङ्क्रमण दर उच्च बन्दै गएको भन्दै कक्षा १२ सहित सबै प्रकारका परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् । राज्यमन्त्री शेष्ठले शुक्रवार सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका छन् ।
उनले लेखेका छन् ‘कोभिड–१९ सङ्क्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवन रक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु ।’
कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि हुने पूर्ण तयारी भैसकेको छ । साथै त्रिभुवन विश्वविद्यालय अन्तरगतका स्नातक तथा स्नातकोत्तरकोसमेत परीक्षा भइरहेको छ । यदि परीक्षा रोकिएमा ती सबै कार्यतालिकामा प्रभाव पर्ने देखिएको छ । तर यसबारेमा सिसिएमसिले केही निर्णय भने गरेको छैन ।
राज्यमन्त्री श्रेष्ठले यस अघि नै परीक्षा रोकेर वैकल्पिक विधिबाट परीक्षाफल निकाल्न शिक्षा मन्त्रालयलाई सुझाएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले भनेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सबै परीक्षा सञ्चालन गर्ने बताउँदै आएको छ ।