तेह्रथुम, २२ श्रावण । सामान्यतया जनप्रतिनिधि तथा उक्त कार्यालयमा कार्यरत कर्मचारीको मृत्यु हुँदा बिदा दिइने प्रचलन रहेको छ तर तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षको ससुराको निधनमासमेत गाउँपालिकाभरि सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रवार एक दिन ‘शोक बिदा’ दिइएको हो । गाउँपालिकाले सूचना नै निकालेर शुक्रवार स्वास्थ्य संस्थाबाहेक गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू एवं गाउँपालिका मातहतका कार्यालयहरू बन्द रहने बताएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रवार गाउँपालिकाभरि एक दिन ‘शोक बिदा’ दिइएको उल्लेख गरिएको छ ।
जनप्रतिनिधिका आफ्ना मानिसको मृत्यु हुँदा पुरै गाउँपालिकाभरि शोक बिदा दिने प्रचलन गलत भएको भने उक्त कार्यको आलोचना भइरहेको छ ।
पत्रकार लक्ष्मण कार्कीले आफन्तको मृत्युमा पुरै गाउँपालिकामा शोक बिदा दिइनु गलत भएको बताउँदै सामाजिक संजालमा उपाध्यक्षको ससुराको मृत्युमा पुरै गाउँपालिकामै बिदा दिने स्थानीयपालिका कुन हो भने व्यङ्ग्यसमेत गरेका छन् ।