काठमाडौँ, २२ श्रावण । यस वर्षको एसईईको नतिजा सोमबारसम्ममा प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक रुद्र अधिकारीले श्रावण २५ सम्ममा नतिजा प्रकाशित गरिने कार्यक्रम अनुसार नै सोमवार सम्ममा एसईईको परीक्षाफल प्रकाशन हुने जानकारी दिएका हुन् ।
बोर्डले शुक्रवार नै एसईईको नतिजा प्रकाशित गर्ने तयारी गरेको भए पनि विगतका वर्षमा झैँ यस वर्ष पनि केही विद्यालयले अस्वाभाविक नतिजा प्रदान गरेको पाइएपछि परीक्षा नतिजा रोकिएको बुझिएको छ ।
परीक्षाफल बारे बिहीबार बोर्ड र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीसहितको भर्चुअल बैठक बसेको थियो । बैठकमा केही विद्यालयले दिएको अङ्क अस्वाभाविक देखिए पछि नतिजा प्रकाशन तीन दिन पछिलाई तय गर्नु परेको बताइएको छ ।
अस्वाभाविक नतिजा पठाउने विद्यालयलाई जिल्ला समन्वय एकाइले बोलाएर सोध्ने र उनीहरूले दिएको परीक्षाफल सच्याउन लगाउने भएको छ । त्यसको लागि बोर्डले समन्वय एकाइलाई पत्राचारसमेत गरिसकेको बुझिएको छ । परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० भन्दा बढी अङ्क दिनुपरेमा सो को कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था भए पनि केही विद्यालयले उक्त नियमको उल्लङ्घन गर्दै आफू खुसी अङ्क दिएको पाइएको छ ।