मोरङ, २२ श्रावण । प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय सङ्गम राई, धनकुटाको साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र धनकुटाकै सहिदभूमि गाउँपालिका–३ बस्ने २१ वर्षीय खपाङ राई रहेका छन् ।
पक्राउ पर्नेमध्ये सूर्य राईले लाखौँ रकम लिएर १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा जारी प्रहरी जवानको लिखित परीक्षामा अरूलाई सहभागी गराका थिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ का सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनी सोही स्थानका सङ्गम राईबाट नगद एक लाख १८ हजार रुपैयाँ, सागर राईबाट एक लाख १८ हजार र धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का सरोज राईबाट दुई लाख रुपैयाँ लिएको खुल्न आएकोले उक्त कार्यमा संलग्न ६ जनालाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरले पक्राउ गरेको जनाएको छ ।
पक्राउपेरकाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिन म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।