काठमाडौँ, २२ श्रावण । सरकारले कोरोविरुद्धको भेरोसिल खोपको दोस्रो डोज दिने काम आजदेखि सुरु गरेको छ । गत असार २९ गते पहिलो डोज लगाएका ५५ वर्ष भन्दा माथिका व्यक्तिहरूले आजदेखि भेरोसिलको खोपको दोस्रो डोज पाउने भएका हुन् ।
खोप देशैभर सञ्चालन हुने र त्यसको लागि स्वास्थ्य सेवा विभागले सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिइसकेको छ । विभागले ती कार्यालयलाई पत्र लेखेर खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
विभागद्वारा जारी पत्रमा २०७८ साल असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसिल खोप पहिलो मात्रा प्रदान गरिएकोमा पहिलो मात्रा खोप पाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो मात्रा खोप दिने गरी २०७८ साउन २२ गतेदेखि देशभरि खोप अभियान सञ्चालन गर्ने भनिएको छ ।
सरकारले कोरोनाविरुद्धको खोप दिँदा तोकेको उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरू, विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरेको बताएको छ ।
सरकारले तोकेको उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरू, विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरेको भने पनि व्यवहारत : त्यस्तो देखिँदैन । कोरोनाको एक मात्र विकल्पको रूपमा रहेको खोप कार्यक्रमलाई व्यवस्थित बनाउने काममा भने सरकार असफल देखिएको छ । एकातिर खोप आवश्यकता भन्दा कम आउनु, अर्कोतर्फ त्यसको व्यवस्थापनमा ध्यान नदिँदा कति स्थानमा बृद्धबृद्धाहरु लामो समयसम्म लाइनमा बसेर पनि खोप नपाइ निराश भएर घर फर्किरहेका छन् ।
धेरैजसो खोप केन्द्रमा आवश्यकताभन्दा बढी भिडभाड भएको छ । खोप लाउन गएका मानिसहरू कोरोना लिएर फर्किनु त पर्दैन भनेर डराइरहेका देखिन्थे । तर सरकारले उमेर समूह तोकेरै खोप पठाए पनि कतिपय खोप केन्द्रमा पहुँच वा चिनजानका भरमा तोकेभन्दा बाहिरका मानिसले पनि खोप लाइरहेको देखिन्छ ।
असोजसम्ममा नेपालमा कोभिड १९ विरुद्धको झण्डै दुई करोड डोज खोप ल्याउने सरकारको दाबी रहेको छ ।