इटहरीको हलगडामा रहेको यातायात कार्यालय सारियो


इटहरी, २२ श्रावण । सुनसरीको इटहरीस्थित यातायात कार्यालय सारिएको छ । हलगडामा रहेको यातायात कार्यालय इटहरी ८ मा सारिएको हो ।

केही दिन अघि मात्र पुरानो ठाउँबाट कार्यालय नयाँ ठाउँमा सार्न सेटिङ भइरहेको समाचार प्रकाशित भएका थिए । नभन्दै समाचार प्रकाशित भएको केही दिनमै सुनसरी ८ का रोहित कुमार चौधरीको भवनमा कार्यालय सारिएको छ । मासिक ७५ हजार रुपैयाँ तिर्ने गरी कार्यालय सारिएको र अहिले सवारीचालक अनुमतिपत्रसम्बन्धी सबै काम उक्त नयाँ कार्यालयबाट भइरहेको कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिएका छन् । 

सबै काम सेटिङको भरमा भएको आरोप लागिरहेको बेलामा कार्यालय प्रमुख सापकोटाकाले यसमा कुनै सेटिङ नभएको, सबै प्रक्रिया पुर्‍याएरै कार्यालय सारिएको बताएका छन् । प्रमुख सापकोटा राजमार्ग छेउको कार्यालय बस्न अनुपयुक्त भएको र जोखिम पनि बढेपछि र प्रदेश मन्त्रीको निर्देशनमै कार्यालय सारिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्