जाजरकोट, २१ श्रावण । कार्यालयभित्र स्थानीयलाई डोरीले बाँधेर कुट्ने ती वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिका वडा नं २ का स्थानीय सर्पे नेपालीलाई आफ्नै कार्यालयभित्रै कुटपिट गरेको आरोपमा वडा अध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका हुन् ।
केही दिन अघि वडा कार्यालयभित्र एक जना युवकमाथि भएको कुटपिटको भिडियो भाइरल बनेको थियो । अध्यक्ष नेपालीसँग ती युवकले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेकोले कुटेको बताइए पनि वडा कार्यालयले भने सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको बेलामा मदिरा सेवन गरेर आएका नेपालीले अपशब्द बोल्दै ढुङ्गा प्रहार गर्न थालेपछि उनलाई नियन्त्रणमा लिने प्रयास मात्र गरिएको बताएको थियो ।
यसरी वडा कार्यालय भित्र जनता कुटिनु अनुचित भएकाले वडाध्यक्षलाई कारबाही हुनुपर्ने भन्दै उक्त घटनाको चौतर्फी आलोचना भइरहेको थियो ।
यो विषयलाई लिएर काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि घटनाप्रति चासो लिँदै असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने काम अनुचित भएको भन्दै कानुनी कारबाहीको भागिदार बन्नुपर्ने बताएका बेलामा उनलाई प्रहरीले पक्राउ गरेको छ ।