तस्करीमा नयाँ विधिको खुलासा : चाँदीको जलपमा सुनको तस्करी गर्ने तीन भारतीय पक्राउ


काठमाडौँं, २१ श्रावण । प्रहरीले कडाइ गर्न थाले पछि पछिल्लो समय तस्करीका नयाँ नयाँ विधि अवलम्बन हुन थालेका छन् । झण्डै दुई किलो सुनसहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ परे पनि पछि यस्तो तथ्य बाहिर आएको हो । 

बुधवार बिहान सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्ट हाउसबाट महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले भारत राजस्थानका २७ वर्षीय साकिर अली, २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मदलाई पक्राउ गर्यो ।


पक्राउ परेका ती भारतीय नागरिकका साथबाट प्रहरीले एक किलो आठ सय ६६ ग्राम सुन बरामद गर्यो । सुनको बिस्कुटमा चाँदीको जलप लगाएको अवस्थामा सुन बरामद गरिएकोले प्रहरीलाई ती सुन नै हुन् भन्ने प्रमाणित गर्न निकै समय लाग्यो । अन्त्यमा जलपलाई पगाले पछि मात्र सुन रहेको प्रमाणित भयो । 

महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले चाँदीको जलप लगाइएको सुन घोटेर परीक्षण गर्दा मात्रै खुलेकाले उनीहरूले यसरी नै विगतमा पनि तस्करी गर्ने गरेको हुनसक्ने हुनसक्ने बताउँछन् । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई प्रयोग गरेर तस्करी हुने गरेको महाशाखाले बताएको छ ।  प्रहरीले घटना गहन रूपमा अनुसन्धान भइरहेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्