विराटनगर, २० श्रावण । मोरङको कटहरिमा रहेको एससीसी इट्टा उद्योग अगाडि एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । मृत अवस्थामा भेटिनेमा कटहरी–४ का ५५ वर्षीय रजन ऋषिदेव रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले कटहरी–४ का ५५ वर्षीय रजन ऋषिदेव मृत अवस्थामा फेला परेको बताएका छन् । करिब १२ बजेको समयमा स्थानीयले उनको लास देखेर प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ प्रहरी टोली पुगेर लासको सनाखत गर्ने काम भएको बताएका छन् ।
प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वको पुगेको प्रहरी टोलीले घटनाको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाएको छ । ऋषिदेवको शव भेटिएको स्थान विराटनगर–रङेली हुलाकी सडक खण्डदेखि करिब दुई सय मिटर उत्तरमा पर्दछ । मृतकको शरीरमा चोट पटक पनि लागेकोले स्थानीयले उनको दुर्घटनामा परी मृत्यु भएको आशङ्का गरेका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।