वडाकार्यालयभित्रै डोरीले बाँधेर युवकमाथि निर्घात कुटपिट : कुटपिटमा संलग्न वडा अध्यक्षमाथि कारबाहीको माग


जाजरकोट, २० श्रावण । जाजरकोट जिल्लाको एउटा वडा कार्यालयभित्र एक जना युवकमाथि भएको कुटपिटको विषयले यतिखेर सबैको ध्यान खिच्न सफल भएको घटना जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिकाको वडा नं २ को कार्यालयको हो ।

वडा कार्यालय भित्रै कुटिनेमा जाजरकोट जिल्लास्थित जुनीचाँदे गाउँपालिकाका स्थानीय सर्पे नेपाली हुन् भने उनलाई कुट्ने सोही वडाका अध्यक्ष रामबहादुर नेपालीले हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा वडाध्यक्ष नेपालीले ती युवकलाई डोरीले बाँधेरै कुटपिट गरेको देख्न सकिन्छ ।

अध्यक्ष नेपालीसँग ती युवकले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेकोले कुटेको बताइए पनि वडा कार्यालयले भने सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको बेलामा मदिरा सेवन गरेर आएका नेपालीले अपशब्द बोल्दै ढुङ्गा प्रहार गर्न थालेपछि उनलाई नियन्त्रणमा लिने प्रयास मात्र गरिएको बताएको छ । तर भिडियोमा भने निर्घात कुटपिट गरेको देख्न सकिन्छ ।

यसरी वडा कार्यालय भित्र जनता कुटिनु अनुचित भएको भन्ने आवाज आइरहँदा गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यले वडाध्यक्षको कार्य अनुचित रहेकोले उनलाई कारबाही हुनुपर्ने बताएकी छिन् ।  

यो विषयलाई लिएर सर्वत्र आलोचना भइरहेको बेलामा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि घटनाप्रति चासो लिँदै असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने काम अनुचित भएको भन्दै कानुनी कारबाहीको भागिदार बन्नुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्