बेलबारीमा एकसाताका लागि लकडाउन : सुरक्षित रहन नगर प्रमुखको आग्रह


बेलबारी, २० श्रावण । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि बेलबारी नगरपालिकाले नगर क्षेत्रभरि  एकसाताका लागि लकडाउन गरेको छ । नोबेल कोरोना (कोभिड –१९) रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समितिको आइतवार अपराह्न बसेको बैठकले कोरोना सङ्क्रमण दर उच्च देखिएको भन्दै श्रावण १९ मङ्गलवार राति १२ बजेदेखि २५ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्दरहने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह यस अवधिमा सम्पूर्ण व्यापार व्यवसाय, साप्ताहिक रूपमा लाग्ने हाटबजार, बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरू पूर्ण रूपमा बन्दर रहने बताउँछन् । 

बेलबारी नगरपालिकामा यतिखेर कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको छ । बेलबारी नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लकडाउनलाई नै मुख्य विकल्प ठानेर लकडाउनको गरिएकोले सुरक्षित रहन, लकडाउनको पूर्ण रूपमा पालना गर्न नगरवासीलाई आग्रह गरेको छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरपालिकाको स्वास्थ्य टिम २४ घण्टै अलर्ट रहेकोले यस अवधिमा कुनै समस्या देखिएमा उक्त टिमलाई सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् । 

बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम् कोरोना फोकल पर्सन सन्तोष विश्वकर्माले दिएको जानकारी अनुसार बेलबारीमा कोरोनाबाट अहिलेसम्ममा २६ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्