बेलबारी, १९ श्रावण । बेलबारी नगरपालिका १ गुम्बा टोलका कुमार गुरुङ झिस्मिस् हुननपाउँदै उठ्छ न र घरनजिकै रहेको बाख्रा फममा पुग्छन् । त्यहाँ पुगेर बाख्रालाई दाना पानी दिन्छन् र घर फर्किन्छन् । उनले यति काम गरिसक्दा श्रीमतीले खाना तयार पारिसकेकी हुन्छिन् । खाना खाएर बाख्रा लिएर उनी जङ्गलतिर लाग्छन् । जङ्गल नजिकै रहेकोले उने यसका लागि धेरै समय भने खर्चनु पर्दैन । जङ्गलमा बाख्रा पुर्याएर केही बेरमै उनी घर फर्किन्छन् । अपराह्न भने बाख्रा आफै आउँछन् । तर उनले यो समयमा बाख्रालाई लिन जङ्गल नजिकै पुग्नु पर्ने हुन्छ । कुमारले गर्नु पर्ने यो दैनिकी कार्य हो । बिहान उठ्नु, बाख्रा फममा जानु, दाना पानी दिनु, अनि खाना खाएर बाख्रा जङ्गल पुर्याउनु र भरे अपराह्नमा बाख्रा लिन जानु यो उनको दैनिक गर्ने काम नै हो । विशेष अवस्थामाबाहेक उनको यो दैनिकी परिवर्तन हुँदैन ।
यो व्यस्त जीवनसँग उनी खुसी छन् । यसमा आफूलाई कुनै गुनासो नरहेको उनी बताउँछन् । त्यसो त बाख्रा पालन पेसाबाट राम्रो कमाइ हुने उनको अनुभव रहेको छ । व्यवस्थित रूपमा व्यवसाय गर्ने हो भने हङ्कङ, अमेरिकाको जतिको पैसा यही कमाउन सक्ने उनको अनुभव रहेको छ ।
४९ वर्षीय गुरुङ २०६६ सालदेखि यही पेसा गर्दै आएका छन् । बेलबारी १ गुम्बा टोलमा उनको श्री मङ्गलमतमु कृषि फम रहेको छ । १० वटा बाख्राबाट सुरु भएको उनको फममा यतिखेर ६१ बाख्रा रहेका छन् । सङ्खुवासभा बसाइ सरेर ५७ सालदेखि यस स्थानमा बसोबास गर्दै आएका छन् । उनले बाख्रा पालनसम्बन्धी विभिन्न तालिम लिएको बताउँछन् ।
तर पछिल्ला समयमा व्यावसायिक रूपमा भन्दा पनि अनुदानको लागि मरिहत्ते गर्ने चलन रहेको, केही थान बाख्रा देखाएर अनुदान साट्ने होड देखेर उनी दुःखित छन् । राज्यबाट पाउने सुविधाका लागि मात्र पेसा गर्दा त्यसबाट राम्रो फाइदा नि नसकिने, पेसा मनैदेखि गरिनुपर्ने उनी बताउँछन् । साथै राज्यबाट पाउने सुविधा वास्तविक किसानले पाउनु पर्ने उनको माग रहेको छ ।
कति पटक त सामूहिक पशुपालनका नाममा आफूजस्ता एकल कृषकले राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनु परेको गुरुङ बताउँछन् । यसरी विभेद गरिँदा चाहिँ उनलाई नमिठो लागेको बताउँछन् । कति पटक त आफूलाई शैक्षिक योग्यताको आधार देखाएर पनि अनुदानबाट वञ्चित गरिएको उनको अनुभव रहेको छ । तर पनि उनी हतोत्साही भने भएका छैनन् । राम्रो भविष्य देखेका गुरुङ यही पेसालाई मुख्य पेसा बनाएरै अघि बढ्ने धेय रहेको बताउँछन् ।
जमिनको अभावले गर्दा कुमारले खोरलाई राम्ररी व्यवस्थापन गर्न सकेका छ्रैनन् । साँघुरो खोरमा बाख्रा पालन गर्नु पर्दा भनेजस्तो आम्दानी लिन नसकिएको उनको अनुभव रहेको छ । तर उनी चाँडै यो खोरलाई बेलबारी १ मै रहेको नक्सलमा लैजाने सोचमा रहेका छन् । त्यहाँ १ बिगाहा जमिन लिजमा लिएर खोर व्यवस्थापन गर्न लागेको उनी बताउँछन् ।
यो काममा उनकी श्रीमती सङ्गिताले पुरै साथ दिएकी छिन् । श्रीमानले बाख्रा जङ्गलतिर लिएर हिँडेपछि उनी बाख्राको खोरको सरसफाईमा लाग्छिन् । श्रीमानको अनुपस्थितिमा त उनैले यो पुरै काम गर्दै आएकी छिन् । उनको पनि श्रीमानकै झैँ पुरै समय बाख्रासँगै बित्ने गर्छ । उनी यो पेसा गरेर स्वावलम्बी बन्न पाएको बताउँछिन् । केही साल शिक्षण पेसासमेत सँगालेकी सङ्गिता सबै पेसामा चुनौति रहने, चुनौति छ भनेर पेसाबाट भाग्न नहुने मत राख्छिन् । उनी आफूले यस ठाउँमा बाख्रापालन सुरु गर्दा एक्लो रहेको, कतिले त बाख्रा पालेकै कारण आफूहरूलाई बाख्रे भनेर गिज्याउने गरेकोसमेत उनी सम्झिन्छिन् । तर पछिल्लो समय भने आफूले बाख्रापालनबाट राम्रा आम्दानी लिएको देखेर धेरैले बाख्रा पाल्ने गरेको उनी बताउँछिन् । उनी बाख्रालाई सुनजत्तिकै महत्त्वपूर्ण रहेको ठान्दछिन् । उनी भन्छिन् ‘आफूसँग बाख्रा हुने हो भने जसले पनि ऋण पत्याउँछन् । खोरमा बाख्रा देखेर पनि अभर परेको बोलामा पैसा दिन्छन् ।’
लकडाउनको बेलामा केही समस्या भए पनि बाख्रापालनबाट राम्रो आम्दानी हुने उनको अनुभव रहेको छ । गत सालको लकडाउनमा दबाइ नपाउँदा ८४ वटा पाठा मरेको जसले गर्दा ठूलो घाटा पुगेको गुरुङ दम्पती बताउँछन् ।
लामो समय सम्म बामपन्थी राजनीतिमा सक्रिय रहेका कुमार यतिखेर भने राजनीतिबाट बिरक्तिएको बताउँछन् । नेतृत्वको अहमले गर्दा पार्टी लथालिङ्ग भएको उनको अनुभव रहेको छ । गुम्बा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका गुरुङसँग केही सालको वैदेशिक रोजगारको अनुभवसमेत रहेको छ । तर त्यहाँ राम्रो कमाई गर्न नसकेपछि उनी फर्किएर बाख्रा पालन पेसामा लागेका छन् । र भविष्यमा पनि यही पेसा अपनाउने उनको धेय रहेको छ ।