‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार जना सांसद पदमुक्त


अदालतको पछिल्लो निर्णयले माओवादी नेतृत्वको सरकार सुरक्षित

काठमाडौँ, १९ श्रावण । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशमा चार जना सांसद पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मोहनबहादुर शाही नेतृत्वको सरकारलाई मत दिने चार जना सांसद माथि गरेको  कारबाही वैधानिकता दिएसँगै उनीहरू पद मुक्त भएका हुन् । 

सर्वोच्च अदालतले यसअघिको आफैले दिएको अन्तरिम आदेशलाई खारेज गरिदिएको छ । माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने नेकपा एमालेले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाही गरे पछि उनीहरूको सांसद पद सकिएको थियो । तर अदालतले पक्रिया नपुराई हटाएको भन्दै अन्तरिम आदेशद्वारा निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको थियो ।

अदालतको निर्णय विरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्ने एमालेको निर्णयलाई सदर गरिदिएको छ । 

अदालतको यो निर्णयसँगै माओवादी नेतृत्वको सरकार सुरक्षित रहन पुगेको छ । चार जना सांसदको पद रिक्तसँगै ३९ सदस्यीय प्रदेश सभा अब ३५ सदस्य कायम भएको हो । ३५ सदस्यीय प्रदेश सभामा बहुमतका लागि १८ सांसद चाहिन्छ । अहिले माओवादी र काँग्रेससँग १८ सदस्य रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्