बेलबारी नगरपालिकामा मङ्गलवार रातीदेखि लकडाउन हुने


बेलबारी, १८ श्रावण । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि बेलबारी नगरपालिकामा एकसाताका लागि लकडाउन हुने भएको छ । नोबेल कोरोना (कोभिड –१९) रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समितिको आज बसेको बैठकले कोरोना सङ्क्रमण दर उच्च देखिएको भन्दै श्रावण १९ मङ्गलवार राति १२ बजेदेखि २५ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले सोमवार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्दरहने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्पूर्ण व्यापार व्यवसाय, साप्ताहिक रूपमा लाग्ने हाटबजार, बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरू पूर्ण रूपमा बन्दर रहने बताइएको छ ।

बेलबारी नगरपालिकामा यतिखेर कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको छ । 

बेलबारीमा कोरोनाबाट अहिलेसम्ममा २६ जनाको मृत्यु भएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम् कोरोना फोकल पर्सन सन्तोष विश्वकर्माले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्