काठमाडौँ, १८ श्रावण । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सबैखाले परीक्षा स्थगित गरेर आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल निकाल्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।
कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको अवस्थामा स्वास्थ्य राज्यमन्त्रीको यस्तो प्रस्ताव आएको हो । राज्यमन्त्री श्रेष्ठले भौतिक रूपमा गरिने परीक्षा रोकेर आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालयलाई सुझाएका छन् । तर परीक्षा स्थगित गर्न प्रस्ताव गरिए पनि यसको निर्णय भने मन्त्रिपरिषद् बैठकबाट गरिनु पर्ने हुन्छ ।
कोरोना सङ्क्रमणको जोखिम बढिरहेको बेलामा, लामो समयसम्म निजी विद्यालयहरूको नेतृत्व गरेका राज्यमन्त्रीबाट आएको यस्तो प्रस्तावलाई महत्वकासाथ हेरिए पनि यसबारेमा शिक्षा मन्त्रालयको भने कुनै प्रतिक्रिया आएको छैन ।