काठमाडौँ, १८ श्रावण । दार्चुलाको घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । भारतीय सुरक्षाकर्मी (एसएसबी)ले तुइन काटिदिँदा एक नेपाली युवा महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरेको हो ।
गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डिआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डिआइजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् । समितिलाई घटनाबारे सत्यतथ्य बुझेर १० दिनमा प्रतिवेदन पेस गर्ने अख्तियारी दिइएको छ ।
शुक्रवार बिहान साढे ८ बजे दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ माल भन्ने स्थानबाट भारत उत्तराखण्ड जिल्लाको पिथौरागढमा पर्ने पांगल भन्ने स्थानमा जाने क्रममा व्यास गाउँपालिका–२ माल बस्ने ३० वर्षीय जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा खसेर बेपत्ता भएका छन् । भारतीय पक्षले तुइनको डोरी काटिदिएपछि खसेका उनी महाकालीको भेलमा बेपत्ता भएको बताइएको छ ।
दार्चुलाको यो घटनालाई लिएर सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ तथा विपक्षी दलका सांसदहरूले सत्यतथ्य बाहिर ल्याउन माग गरिरहेका छन् ।