काठमाडौँ, १८ श्रावण । गृहमन्त्री बालकृष्ण खाँणले तुइन हटाएर झोलुङ्गे पुल निर्माणलाई तीव्रता दिने बताएका छन् । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा उनले मातहतका निकायलाई निर्देशन दिँदै तुइन हटाएर झोलुङ्गे पुल निर्माणलाई तीव्रता दिनु पर्ने बताएका हुन् ।
बैठकमा शनिवार रातिको बाढीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पु¥याएको क्षतिबारे जानकारी लिने कामसमेत भएको र गृहमन्त्री खाँणले तत्काल हेलम्बु गाउँपालिकाको चनौटे बजारमा वैकल्पिक पुल व्यवस्था गर्न निर्देशनसमेत दिएका थिए । गृहमन्त्री खाँणले निर्देशन दिँदै भने ‘सहज रूपमा खाद्यान्न र औषधिजन्य सामग्री ढुवानीका लागि सडक पहुँच अनिवार्य छ । त्यसका लागि तत्काल आवश्यक प्रबन्ध मिलाउन लाग्नुहोस् ।’
बैठकमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी गृह प्रवक्ता फणीन्द्रमणि पोखरेललगायत उपस्थित थिए ।