दार्चुलाको विषयलाई लिएर गम्भीर रूपमा आपत्ति जनाउनु पर्ने माओवादी केन्द्रको भनाइ


काठमाडौँ, १७ श्रावण । नेकपा माओवादी केन्द्रले दार्चुलामा भएको घटनाको विषयमा गम्भीर रूपमा आपत्ति जनाउनु पर्ने बताएको छ । माओवादीको केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसपी)ले तुइन काटेको घटनालाई अमानवीय व्यवहारको संज्ञा दिँदै कडा रूपमा विरोध जनाउन सरकारलाई आग्रह गरेको छ ।

उक्त घटनाको सत्य तथ्य छानबिन गर्न पनि माओवादी केन्द्रले सरकारसँग माग गरेको छ । १५ गते शुक्रवार बिहान भारतीय भूमिबाट सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए । युवकको खोजीमा नेपाली सेनाको टोली खटिएको छ तर पनि बेपत्ता युवक फेला पर्न सकेका छैनन् । 

उता भारतीय पक्षले भने तुइन काटेको घटनामा (एसएसपी)को संलग्नता नरहेको बताउँदै आएको छ । तुइन तर्न नसकेर युवक आफैँ खोलामा खसेको, बाहिर भनिएजस्तो (एसएसपी)को जवानले तुइन नकाटेको दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले शनिवार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसपी)को संलग्नता नरहेको दाबी गरेका हुन् । 

उक्त घटनालाई लिएर सर्वत्र विरोध भइरहेको छ । घटनाको छानबिनका लागि शुक्रवार नै गृह मन्त्रालयले तीन सदस्यीय टोलीसमेत टोली गठन गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्