लेटाङ नगरपालिका सोमबारदेखि एक साताका लागि सिल गरिँदै


लेटाङ, १७ श्रावण । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लेटाङ नगरपालिका एकसाताका लागि सिल हुने भएको छ । नगर कार्यपालिकाको १५ गते बसेको बैठकले कोरोना सङ्क्रमण दर उच्च देखिएको भन्दै श्रावण १८ सोमवारदेखि २५ गतेसम्म सिल गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख शङ्कर राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक तथा निजी सवारी, बैङ्क तथा वित्तीय संस्था, फलफूल तथा तरकारी, दूध ढुवानी तथा बिक्री वितरण र सङ्कलन, उद्योग, व्यापार र व्यवसाय, खेलकुद, कवर्ड हल, कोचिङ सेन्टर, तालिम गोष्ठी, होटेल व्यवसाय तथा रेष्टु–राँ बन्द रहने उल्लेख गरिएको छ । 

नगरपालिकाले यस अवधिमा नगर क्षेत्र भित्रका विश्वविद्यालय, लोकसेवा, उच्च माध्यमिक तहको परीक्षा बाहेक अन्य सबै क्षेत्र बन्द गरिने नगरपालिकाले जनाएको छ । लेटाङ नगरपालिकाले दिएको जनाकारी अनुसार यतिखेर नगरपालिकामा ३२७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै लेटाङमा ४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाबाट लेटाङमा ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्