काठमाडौँ, १७ श्रावण । अविरल वर्षातका कारण गए राति आएको बाढीले सिन्धुपाल्चोक मेलम्ची क्षेत्रका एकदर्जन जति घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बेलुकी साढे नौ बजेतिर आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारका ६ घर बगेको जानकारी दिएका छन् ।
साथै प्रहरी उपरीक्षक अधिकारीले हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुङ्गे रातो पुल बाढीले बगाएको, र ग्याल्थुम बजारका ४० घर जोखिममा रहेको बताएका छन् । यसअघि गत असार १ मा पनि मेलम्चीमा आएको बाढीले ठूलो क्षति पुर्याएको थियो ।
असार १ गतेको बाढीले हेलम्बु गापाका स्थानीय र मेलम्ची खानेपानी आयोजनामा काम गर्नेमध्ये पाँचले ज्यान गुमाएका थिए । त्यतिखेर बेपत्ता भएका २० जना अझै सम्मा भेटिएका छैनन् ।