दार्चुलाको घटनामा सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको भारतीय पक्षको दाबी


धनगढी, १६ श्रावण । महाकाली नदीमा तुइनबाट युवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले शनिवार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको दाबी गरेका हुन् ।

भारतीय पक्षले तुइन काटेको घटनामा सत्यता नभएको बताएको छ । उसले तुइन तर्न नसकेर युवक आफैँ खोलामा खसेको, बाहिर भनिएजस्तो (एसएसबी)को जवानले तुइन नकाटेको आफ्नो जवाफमा बताएको छ । १५ गते शुक्रवार बिहान भारतीय भूमिबाट सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए ।युवकको खोजीमा नेपाली सेनाको टोली खटिएको छ तर पनि बेपत्ता युवकलाई फेला पर्न सकेको छैन । 

घटनाको छानबिनका लागि शुक्रवार गृह मन्त्रालयले तीन सदस्यीय टोलीसमेत टोली गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्