म्याग्दी, १४ श्रावण । म्याग्दीमा भीरबाट जीप खस्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धवलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले शुक्रवार ताकमदेखि दरबाङहुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जीप दरबाङ–धारापानी सडक अन्तर्गत बादिकाको भीरबाट खसेको, भीरमै अड्किएकाले चालकसहित बाँकी यात्रु बाच्न सफल भए पनि जीपबाट बाहिर खसेका सुनारको भने मृत्यु भएको थियो । चालकसहित ८ जना सामान्य घाइते भएका र घाइतेलाई दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेको, दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।