पर्सा, १५ श्रावण । झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने पर्साका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झुटो विवरण दिएर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ पर्नेमा भारत घर भई हाल पर्साको बहुदरमाइ नगरपालिका–२ बस्ने २८ वर्षीय सीता पटेल र बहुदरमाइ नगरपालिका–२ कै ५१ वर्षीय धुरुपप्रसाद पटेल रहेका छन् ।
झुटो विवरण पेस गरी नागरिकता लिएको उजुरीको आधारमाजिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सीतालाई वीरगन्ज–१३ श्रीपुरबाट बुधवार बिहान नियन्त्रणमा लिएको छ । उनले २०७० साल पुस ११ गते कविताकुमारी पटेलको नामबाट नेपाली नागरिकता लिएकी थिइन् । उनलाई आफ्नो छोरी भनेर नागरिकता दिलाउने बहुदरमाइ नगरपालिका–२ का ५१ वर्षीय धुरुपप्रसाद पटेल लाईसमेत प्रहरीले पक्राउ गरेको छ ।
नागरिकतामा बनाउने क्रममा धुरुप पटेलले सीतालाई आफ्नो छोरी कविता पटेल भनेर सनाखत गरेका थिए । दुवै जनालाई नागरिकतासम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताएका छन् ।
पछिल्लो समय यसरी झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिने क्रम बढिरहेको छ । कतिपय ठाउँमा त नागरिकता लिने दिने क्रममा ठूलो आर्थिक चलखेलसमेत हुने गरेको पाइन्छ ।