लेटाङ, १४ असार । लेटाङको बुधबारेमा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन भएको छ । बिहिवार एक कार्यक्रमबिच नगर प्रमुख शङ्कर राईले लेटाङ २, बुधबारेमा नवनिर्मित प्रहरी चौकीको उद्घाटन गरेका छन् ।
गत माघमा सङ्घीय सांसद घनश्याम खतिवडा र नगरप्रमुख शङ्कर राईले संयुक्त रूपमा शिलान्यास गरेको प्रहरी चौकीको नयाँ भवन २२ लाख ९२ हजार ७ सय ६७ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । बि.स. २०४८ सालमा स्थापना भएर द्वन्दकालमा सुरक्षाको कारण विस्थापित प्रहरी कार्यालय गत वर्ष पुनर्स्थापित भए पनि आफ्नै भवन नहुँदा भाडाका भवनबाट कार्यालय सञ्चालन हुँदै आएको थियो । नवनिर्मित ४ कोठे भवनको निर्माणमा स्थानीय सामुदायिक वनहरू र लेटाङ नगरपालिकाले १८ लाख ८८ हजार आर्थिक सहयोग रहेको थियो ।
प्रहरी चौकीको भवन उद्घाटन गर्दै नगरप्रमुख शङ्कर राईले प्रहरी चौकीको स्थापनासँगै यस क्षेत्र र आसपासमा हुने आपराधिक घटना नियन्त्रणमा सहयोग पुग्ने बताए । त्यस्तै उपप्रमुख कृष्ण कुमारी निरौलाले प्रहरी चौकीको पुनः स्थापनाले महिला हिंसा तथा बाल संरक्षणको क्षेत्रमा सहयोग पुग्ने आसा व्यक्त गरिन् ।
सो अवसरमा जिल्ला प्रहरी प्रमुख जनार्दन जि.सी., लेटाङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिना, राष्ट्रिय अनुसन्धान विभाग मोरङका प्रमुख विमल घिमिरे, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी तथा स्थानियबासीहरुकोसमेत उपस्थिति रहेको थियो ।