काँग्रेसको क्रियाशील सदस्यमा सिफारिस व्यक्तिनै अर्को पार्टीमा प्रवेश : प्रक्रियामै प्रश्न


सुन्दरहरैँचा, १४ श्रावण । काँग्रेसले क्रियाशील सदस्यमा सिफारिस गरेर पठाएका व्यक्ति नै एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि पार्टीले जारी गरेको क्रियाशील सदस्यमा विवाद भइरहेको बेलामा सुन्दरहरैँचाका २ जना क्रियाशील सदस्य नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेसँगै छनोट प्रक्रियामा भएको कमजोरी सार्वजनिक भएको छ ।

काँग्रेस छाडेर एमालेमा प्रवेश गर्नेहरूमा सुन्दरहरैँचा –९ का चन्द्रप्रसाद ढकाल र निलबहादुर कार्की रहेका छन् । एकवर्ष अघि एमाले छाडेर काँग्रेसमा प्रवेश गरेका उनीहरूलाई प्रवेश गर्ने बित्तिकै क्रियाशील सदस्यताको लागि सिफारिस गरिएको थियो । यसरी उनीहरूलाई क्रियाशील सदस्यमा सिफारिस गरिएकोप्रति काँग्रेस कार्यकर्ताले असन्तुष्टि जनाउँदै आएका थिए ।  

विधानतः क्रियाशील सदस्य छनोट गर्दा पार्टीको वडा समितिको सिफारिसअनुसार हुनु पर्छ तर सुन्दरहरैंचा नगरपालिकाका केही वडामा भने वडा समितिले सिफारिस गरेबाहेकका व्यक्ति लाईसमेत क्रियाशील सदस्यका लागि प्रस्ताव गरिएको काँग्रेसका कार्यकर्ताले आरोप लाउँदै आएका छन् ।  

आसन्न नगर अधिवेशनका लागि पार्टी सङ्गठनमा योगदान नै नगरेका केही सीमित नेताहरूबाट सञ्चालित समूहका नेताका आडमा रहेर उम्मेदवारी घोषणा भएको भन्दै पार्टीमा लामो समयदेखि काम गरेका कार्यकर्तामा पनि असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्