काठमाडौँ, १४ श्रावण । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा साउनको तेस्रो साता भित्र प्रकाशन गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको हो ।
परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउन २५ गते भित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्र रूपमा रूपमा काम भइरहेको बताएका छन् । उनले सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा प्राप्त भएर इन्ट्रीसमेत सकेर नम्बर रुजु गर्ने काम भइरहेको, यदि कुनै व्यवधान नआएमा साउनको तेस्रो साता सम्ममा नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।
यस पटकको परीक्षाका लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिस्ट्रेसन फारम भरेका छन् । कोरोनाका कारण निषेधाज्ञा जारी गरेपछि वैशाख २७ गते तोकिएको एसईई परीक्षा स्थगित भएको थियो । गत वर्षको झैँ यस वर्ष पनि एसईई परीक्षाको परीक्षाफल आन्तरिक मूल्याङ्कनको आधारमा गरिने भएको छ ।
परीक्षाफल नआए पनि अधिकांश प्राइभेट विद्यालयले भने प्रवेश परीक्षाको तयारी गरिसकेका छन् ।