विराटचोक, १३ श्रावण । मोरङको सुन्दरहरैँचामा सुन पसल लुटपाटमा प्रयोग भएको स्वचालित हतियारसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सुन्दरहरैँचा, १० त्रिवेणी चोकमा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयासमा प्रयोग भएको स्वचालित हतियारसहित पाँच जनाको समूहलाई केराबारीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबाट स्वचालित हतियार एक थान म्यागेजिनसहित एक थान यसएमजी र गोली ६२ राउण्ड, एक थान म्यागेजिनसहित अटोमेटिक पेस्तोल एक थान र २ राउण्ड गोली, एक थान कटुवा पेस्तोल, ३०३ राइफलको राउण्ड ४ थान र एमपिआर लेखेको सञ्चार सेट एक थान प्रहरीले बरामद गरेको छ । घटना पश्चात् यो समूहको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, १ नं प्रदेश प्रहरी कार्यालय, र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोली परिचालित भएको इलाका प्रहरी कार्यालयका प्रमुख सरोज खनालले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ को मिसन राई र वडा नं. ७ का वर्ष ३१ को सन्तोष राई रहेका छन् । संखुवासभा सभापोखरी गाउँपालिका ४ का वर्ष ३९ को प्रकाश भन्ने चन्द्र बहादुर राई, वडा नं. ६ का वर्ष ३० को चिरञ्जीवी राई, भोजपुर पौवादुम्मा गाउँपालिका वडा नं. ३ का नगेन्द्र राई पक्राउ परेका छन् । साथै सुनसरी गढी गाउँपालिका वडा नं.१ बस्ने वर्ष ४५ को डाईमण्ड भन्ने प्रमोद चौधरी पक्राउ परेको छ ।
प्रकाश भन्ने चन्द्र बहादुर राई, चिरञ्जीवी राई र नगेन्द्र राई हाल इटहरी उपमहानगरपालिका वडा नं.२० तरहरामा डेरा गरी बस्दै आएका प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न को २ ह २७३६ नं. अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५ मोटरसाइकल, को २० प १८६ मोटरसाइकल, को ८ प ६५८३ मोटरसाइकल, को २१ प ६७०३ मोटरसाइकल, विभिन्न ब्रान्डका मोबाइल थान–८ (आठ) र नगद रु. १६ हजार १ सय बरामद गरेको छ ।
उक्त अभियुक्तहरूलाई मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग, डाका उद्योग र हातहतियार तथा खरखजना मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।