क्याम्पस प्रमुखको नियुक्तिको विषयलाई लिएर सञ्चालक समिति सदस्य सुवेदीले दिए राजीनामा


नेविसंघ नगर समिति भन्छ 'क्याम्पस प्रमुखको नियुक्ति विधिसम्मत छ'

बेलबारी, १३ श्रावण । बेलबारी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तिको विषयलाई लिएर सञ्चालक समितिका सदस्य महेन्द्रप्रसाद सुबेदीले राजीनामा दिएका छन् । 

नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहेका सुवेदीले एक विज्ञप्ति निकाल्दै क्याम्पस प्रमुख नियुक्ति लगायतका क्याम्पस भित्रका विविध विषयका कारणले समितिमा रहिरहन असहज भएकोले आफूले सञ्चालक समितिको पदबाट राजीनामा दिएको बताएका छन् । 

२०७७ चैत्र ३० गते सम्पन्न तेस्रो साधारण सभाबाट सदस्य पदमा चुनिएका सुवेदीले विधि र पद्धतिलाई मिचेर क्याम्पस प्रमुखको नियुक्ति गरिनु, क्याम्पसमै अध्ययनरत विद्यार्थीबाट त्यसको विरोध हुँदा पनि नेतृत्व मौन रहनु उचित नहुने ठानेर आफूले राजीनामा दिएको बताएका छन् ।

सञ्चालक समितिको साउन चार गतेको बैठकले बेलबारी नगरपालिकाका शिक्षा शाखाका प्रमुखसमेत रहेका भूपेन्द्र कोइरालालाई क्याम्पस प्रमुखका रूपमा नियुक्त गरेको थियो । सोही विषयलाई लिएर नेपाल विद्यार्थी सङ्घले विरोध जनाउँदै आएको छ ।

सोही विषयलाई लिएर सोमवार मात्र नेविसंघले नगरपालिकालाई ध्यानाकर्षण गराउँदै एकसाता भित्र निर्णय नबदले कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको थियो । केहीले भने सुवेदी आफै सदस्य रहेको सञ्चालक समितिले क्याम्पस प्रमुखको नियुक्ति गर्नु अनि सोही पार्टीको भातृ सङ्गठनले त्यसको विरोध गर्नुलाई काँग्रेसले दोहोरो चरित्र देखाएको आरोप लगाएका थिए । यो आरोप लागे पछि उनले राजीनामा दिएको बताइएको छ । 

तर ध्यानाकर्षण पत्र बुझाउँदै एक साताको समय दिएको भोलि पल्टै नेविसंघ नगर समितिले भने विज्ञप्ति निकाल्दै क्याम्पस प्रमुखको नियुक्ति विधिसम्मत नै भएको प्रस्ट पारेको छ । 

प्रतिक्रिया दिनुहोस्