प्रधानमन्त्रीलाई डा. गोविन्द केसीको ध्यानाकर्षण पत्र


काठमाडौँ, १२ साउन । स्वास्थ्य क्षेत्रको सुधारका लागि सङ्घर्षरत प्राध्यापक डा. गोविन्द केसीले सरकारलाई ध्यानाकर्षण पत्र पठाएका छन् । मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे ध्यानाकर्षण पत्र लेख्दै डा. केसीले निजी अस्पताल र विद्यालयका सञ्चालक श्रेष्ठलाई तत्काल स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीबाट हटाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । 

प्राध्यापक डा. गोविन्द केसीको ६ बुँदे ध्यानाकर्षण पत्र : 

श्री शेरबहादुर देउवा ज्यू, प्रधानमन्त्री

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबार ।

देशमा नयाँ सरकार गठन भएको छ । अरू क्षेत्रमा झैँ मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि समस्याहरूको चाङ छ । तिनलाई समाधान गर्न नयाँ सरकारले सीमित भए पनि अग्रसरता लेला भन्ने हाम्रो अपेक्षा थियो ।

तर सरकारका सुरुआती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकहरूलाई पहिलै गाँसमा ढुङ्गा लागेको अवस्था अहिले छ । खास गरी देशको सार्वजनिक स्वास्थ्य प्रणाली धराशायी बनाएर निजी अस्पतालहरू फस्टाएको पृष्ठभूमिमा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय छ र हाम्रा लागि स्वीकार्य छैन । स्वास्थ्यजस्तो संवेदनशील विषयमा नियमनकारी भूमिका समेत रहने स्वास्थ्य मन्त्रालयमा स्वार्थको द्वन्द्व हुने कुनै पनि व्यक्ति नियुक्ति हुनु हुँदैन।

यो अवस्थामा सरकारले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रका समस्याहरूको समाधानका लागि तत्काल, मध्यमकाल र दीर्घकालमा गर्नुपर्ने कामहरूबारे ध्यानाकर्षण गराउनका लागि निम्न मागहरूसहित यो पत्र लेखेका छौँः 

१. नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन् । नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस् । अब उपरान्त व्यापारी वा व्यवसायीहरूले नेता वा तिनका परिवारका सदस्यलाई करोडौँ घुस ख्वाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरू डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस् ।

२. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै मागहरू पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुको विकल्प छैन । त्यसका लागि जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गरिनुपर्छ । त्यसपछि बिपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रूपमा पदाधिकारी मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार नयाँ पदाधिकारी नियुक्त गर्नुपर्छ । त्यसका लागि तत्काल कानुनी व्यवस्था गर्नुपर्छ ।

३. पूर्ववर्ती सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्न खोज्ने तथा हाम्रो अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कानुन अनुसार कारबाही गर्नुपर्छ ।

४. विसं. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्छ । अब कुनै पनि हालत वा बहानामा निजी मेडिकल कलेज खोलिनु हुँदैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सुरु गर्ने कुरालाई निश्चित गर्नुपर्छ ।

२०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पु¥याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं. २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिनुपर्छ । हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेलधुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोलिनुपर्छ । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक शिक्षण संस्थाका रूपमा रहेका नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुलमा तत्काल सोही ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्ति कायम गर्नुपर्छ । काठमाडौँ विश्वविद्यालयको विस्तारित कार्यक्रम रहेका कलेजहरूमा समेत सो प्रावधान लागू हुनुपर्छ ।

५. नेपालमा मेडिकल माफियाहरूले सत्ता फेरिएसँगै नयाँ सरकारलाई आफ्नो प्रलोभनमा पार्ने गरेका छन् । अहिलेको सत्तारुढ दलनिकट माफियाहरूको चलखेल पछिल्लो समय बढेको छ । देशका धेरै निजी मेडिकल कलेजहरूलाई मुठ्ठीभर आपराधिक पृष्ठभूमिका माफियाहरूले लिने क्रम चलिरहेको छ । गत चुनावमा उनीहरूमध्ये केहीले मुख्य पार्टीहरूका तर्फबाट चुनावमा टिकट समेत पाएका थिए । नयाँ सरकारलाई हामी प्रस्ट भाषामा चेतावनी दिन चाहन्छौँ अपराधी र माफियाहरूको कुनै राजनीतिक दल वा विचार हुँदैन । उनीहरू जोसुकैको नजिक भए पनि दण्डित हुनुपर्छ । उनीहरूसित खर्च लिएर पार्टीहरू चुनाव लड्ने हो भने यो देशको स्वास्थ्य र मेडिकल शिक्षा त कहिल्यै उँभो लाग्ने छैन नै, हाम्रो राजनीतिको अहिलेको भ्रष्टीकरण र अपराधीकरण झनै मौलाएर जानेछ । त्यसैले उनीहरूलाई कुनै पनि हालतमा चुनावी टिकटलगायतबाट पुरस्कृत गरिनु हुँदैन । बरु २०८५ सालदेखि सबै मेडिकल कलेजहरू नाफारहित हुने हुँदा नेपालको मेडिकल शिक्षालाई अहिल्यैदेखि त्यस दिशामा लैजाँदै माफियाहरूलाई निरुत्साहित गरिनुपर्छ ।

६. यस अगाडि हामीसित भएको सबै सम्झौताहरू कार्यान्वयन हुनुपर्छ । तीमध्ये चिकित्सा शिक्षा ऐनको सम्झौताको संशोधन पनि पर्छ । पछिल्लो समयको अनुभवले चिकित्सा शिक्षा आयोेगमा प्रधानमन्त्री र मन्त्रीहरूलाई राख्दा चरम् राजनीतिक हस्तक्षेप र विसङ्गति देखिने कुरा पुष्टि भएको छ । त्यसैले अबको संशोधनमा आयोगका अध्यक्ष प्रधानमन्त्री तथा सह अध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिनुपर्छ ।

यी मागहरू पूरा गर्नुको सट्टा सरकारले आम नागरिक र विद्यार्थीहरूको सट्टा सीमित शैक्षिक र मेडिकल माफियाको हितमा काम ग¥यो भने हामी सत्याग्रहसहित जस्तो सुकै आन्दोलनका कार्यक्रमहरू ल्याउन पनि तयार रहनेछौँ । अन्तमा, कोभिड महामारीको दोस्रो लहर अझै पूर्ण रूपमा नसकिएको तथा तेस्रो लहरको जोखिम कायमै रहेकाले परीक्षण, भ्याक्सिन वितरण र उपचारको पर्याप्त व्यवस्था गर्न तथा यस अगाडिको सरकारले झैं महामारीलाई कमाउधन्दाको माध्यम बन्न नदिन पनि सरकारको ध्यानाकर्षण गराउँछौँ ।

-डा. गोविन्द केसी
काठमाडौं, २०७८।४।१२

प्रतिक्रिया दिनुहोस्