खेलमा विवाद भएपछि मोरङको राजघाटमा एक जना किशोरको हत्या


मोरङ, १२ श्रावण । फुटबल खेल्ने क्रममा भएको विवादका कारण मोरङको राजघाटमा एक जना किशोरको हत्या भएको छ । मृत्यु हुनेमा उर्लाबारी–८ राजघाटका १७ वर्षीय अभिषेक चौधरी रहेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिएको जानकारी अनुसार सोमबार दिउँसो राजघाटमा फुटबल खेल्ने क्रममा भएको विवादले उग्र रूप लिए पछि उर्लाबारी–८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको छुरा प्रहारबाट हत्या भएको हो । प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट गम्भीर घाइते अभिषेकलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । 

खेल पश्चात् स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला ६–७ जनाको समूहले अभिषेकमाथि छुरा प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काको नेतृत्वको प्रहरीको टोलीले घटनामा संलग्न भएको आशङ्कामा निशान राई र पवन कार्कीलाई पक्राउ गरेको छ । घटनाका बारेमा गम्भीर ढङ्गले अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्