उर्लाबारीमा मङ्गलवार राती १२ देखि लकडाउन हुँदै


उर्लाबारी, १२ श्रावण । कोरोना सङ्क्रमण दर उच्च देखिए पछि मोरङको उर्लाबारी नगरपालिकामा पुनः लकडाउन हुने भएको छ । उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले मङ्गलवार राती १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । 

लकडाउन अवधिमा औषधि, दूध डेरी, कलेजका परीक्षा र खानेपानी सेवा बाहेक अन्य सबै सेवा तथा व्यवसायहरू बन्द गर्ने निर्णय भएको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले बताएका छन् ।

कोरोनाको सङ्मण बढ्न थाले पछि केही पालिकाहरूले पनि लकडाउनको घोषणा गरिसकेका छन् भने यही अवस्था रहिरहने हो भने जिल्ला भरी नै निषेधाज्ञा जारी गर्नु पर्ने अवस्था देखिएको छ ।  

निषेधाज्ञा खुकुलो भएसँगै लापरबाही बढेको र स्वास्थ्य सतर्कता तथा मापदण्ड पालना नगरेका कारण सङ्क्रमणको अनुपात बढेको बताउँदै सतर्कता नअपनाउने हो भने जिल्लाभर निषेधाज्ञा जारी गर्ने अवस्था आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्