काठमाडौँ, ११ श्रावण । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको पाइएको छ । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै यो दर बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १२ हजार २४० जनाको पीसीआर र पाँच हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार २७२ जनाको परीक्षण गर्दा ३,४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
उपत्यकामा पछिल्लो २४ घण्टामा ९९९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका सबैभन्दा बढी ६७७ जना छन् । यस्तै भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको झण्डै २० प्रतिशत हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३८ हजार ९१८ जना पुगेको छ ।
निषेधाज्ञा खुकुलो पारेसँगै यातायातका साधन सुचारु भएका छन् । यातायातका साधन सुचारु हुँदा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सजिलो त भएको तर तर यसले एक ठाउँमा सङ्क्रमणलाई अर्को ठाउँमा पुर्याउनसमेत सजिलो बनाएको छ । जसले गर्दा पनि कोरोना सङ्क्रमण बढेको बताइएको छ ।