बेलबारी, ११ श्रावण । बेलबारी बहुमुखी क्याम्पसमा प्रमुखको नियुक्तिको विषयलाई लिएर विद्यार्थीले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । नेपाल विद्यार्थी सङ्घले क्याम्पस प्रमुखमा नियुक्त भएका बेलबारी नगरपालिका शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइरालालाई ७ दिनभित्र क्याम्पस प्रमुखबाट हटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
सोमबार दिउँसो नेबसिंघले बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको, यदि सातदिन भित्र उक्त निर्णय नसच्याए आफूहरू कडा रूपमा प्रस्तुत हुने विद्यार्थी नेता सियोम सुवेदीले बताएका छन् । क्याम्पस सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले बेलबारी नगरपालिकाका शिक्षा शाखाका प्रमुखसमेत रहेका कोइरालालाई क्याम्पस प्रमुखका रूपमा नियुक्त गरेको थियो ।
मनोमानी ढङ्गले दोहोरो सुविधा पाउने गरी कोइरालालाई नियुक्त गरिएको भन्दै नेबिसंघले यस अघि नै विज्ञप्तिमार्फत विरोध जनाइसकेको थियो । नेविसङ्घले बहालवाला निजामती कर्मचारीलाई नियुक्त गर्न गलत भएको भन्दै कुन विधिबाट नियुक्त गरियो हो भन्दै नगरपालिकासँग प्रश्नसमेत सोधेको छ ।