बादल र विप्लवबिच भेटवार्ता : तीन बुँदे सम्झौता कार्यान्वयनमा जोड


काठमाडौँ, १० श्रावण । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिच भेटवार्ता भएको छ ।

सशस्त्र युद्धमा एउटै मोर्चामा रहेर पछिल्लो समय भने अलग अलग भएका पूर्व माओवादी नेता द्वय बादल र विप्लवबिच लामो समय पछि भेट भएको हो । पूर्व माओवादी नेता बादललाई भेट्न विप्लव नेताहरू खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरका साथमा बादल निवास पुगेका थिए । तर उनीहरूबिच भएको कुराकानीको विषय भने सार्वजनिक गरिएको छैन । 

एक सातायता विप्लवले राजनीतिक भेटघाटलाई बढी जोड दिएका छन् । विप्लवले यसअघि केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण लगायतका बामपन्थी नेताहरूलाई भेटिसकेका छन् ।उनले भेटमा फागुन २० गते केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन र आफ्ना नेता कार्यकर्ताको रिहाइलाई प्रमुखताका साथ उठाउँदै आएका छन् ।

सशस्त्र द्वन्द्व बाटो त्यागेर सार्वजनिक राजनैतिक जीवनमा आएका विप्लवले गोलमेच सम्मेल तथा सर्वक्षीय सरकारको मुद्धामा जोड दिँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्