माधव नेपालसहित एमालेका २२ सांसदले स्पष्टीकरणको जवाफ दिने


काठमाडौँ, ७ श्रावण । वरिष्ठ नेता माधवकुमार नेपालसहित नेकपा एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेसँगै उनीहरू जवाफ फर्काउन लागेका हुन् ।

स्पष्टीकरण मागिएका मध्येका सांसद विरोध खतिवडाले बिहीबार संसदीय दलको कार्यालयमा पुगेर स्पष्टीकरणको जवाफ दिने जानकारी दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले श्रावण ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ जना सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । 

सर्वोच्चले धारा ७६ (५) अन्तरगत बन्ने प्रधानमन्त्रीलाई समर्थन गर्नेलाई पार्टीको ह्विप नलाग्ने निर्णय गरेकोले विश्वासको मतबारे उल्लेख नै नगरी स्पष्टीकरण सोधिएको छ । पत्रमा पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको लगायतका विषय उल्लेख भएको छ । 

एमालेले माधव नेपाल, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसीलाई स्पष्टीकरण मागेको छ । 

प्रतिक्रिया दिनुहोस्